Saturday, July 4

प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयाे :सांसद चौधरी

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा २ को पालना नगरेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उल्लङ्घन गरेको बताएका हुन् ।

Advertisement

‘नेपालको संविधानको २०७२ को धारा १०० को उपधारा २ मा सरकारमा सहभागी मध्ये कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ भन्ने छ। आज सरकारमा सहभागी राजनीतिक दल नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको आज ठिक एक महिना पुगेको छ र समर्थन दिएको अर्को राजनीतिक दल जनता समाजवादीले पनि समर्थन फिर्ता लिएको छ। तर सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमहरूमा विश्वासको मत लिनु नपर्ने तर्कहरू गरिरहनु भएको छ। विश्वासको मत लिन्न भनिरहनु भएको छ।  उहाँको भनाइ गैरकानुनी, असंवैधानिक र गैरजिम्मेवारी कुरा हो, मुर्खतापूर्ण भनाइ हो,’ सांसद चौधरीले भने ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओली संविधानको पालना गर्ने व्यक्ति भए पनि कुतर्क गरिरहेको सांसद चौधरीले बताए । उनले पार्टीको तर्फबाट ओलीको भनाइको खण्डन पनि गरे ।

Advertisement

उनले स्थापित मूल्य र मान्यतालाई कायम राख्ने भएमा ओलीले संसद्‌बाट विश्वासको मत लिनुपर्ने बताए ।

‘प्रधानमन्त्रीले विश्वासको मत नलिने विषयमा जिकिर गरिरहनु भएको छ। कि त भन्नुपर्‍यो म संविधानभन्दा माथिको मान्छे हो। यसैले मलाई संविधान मान्नु पर्दैन। संविधान, कानुन कागजको खोस्टा मात्रै हो भन्ने भन्नुपर्‍यो। यदि संवैधानिक व्यवस्थालाई मान्ने हो भने, स्थापित मूल्य र मान्यतालाई कायम राख्ने हो भने तुरुन्तै संसद्‌बाट विश्वासको मत लिनुपर्छ,’ सांसद चौधरीले भने ।