
नेपालअखबार,काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने भएको छ ।
एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि भक्तपुर प्रहरीले अनुसन्धान गर्न लागेको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो ।
आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेो बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो ।
जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरी पछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।
त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही मुद्दामा चक्रेमाथि अनुसन्धान हुने परिसर झक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले बताए ।
चक्रे अहिले भने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । बिहीबार राति प्रहरीले उनलाई पक्राउ गरेको थियो । महाराजगञ्जस्थित होटल साम्बालामा बर्थडेको पार्टी चलिरहेका बेला उनीसहित ४७ जना पक्राउ परेका थिए ।
ती मध्ये १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरिएको छ । परिसर काठमाडौंको काम सकिएपछि चक्रेविरुद्ध भक्तपुर प्रहरीले अनुसन्धान गर्ने बताइएको छ ।
उक्त आक्रमणको घटनामा चक्रे स्वयम संलग्न नभए पनि उनको योजना काम भएको दाबी गरिएको छ ।

