Monday, July 6

जम्मू-कश्मिरमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।  भारतको जम्मू-कश्मिरको किस्तवाडमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु भएको छ।

Advertisement

बिहिबार दिउँसो बादल फाटेर भीषण वर्षा (क्लाउडब्रस्ट) भएपछि किस्तवाडको दुर्गम गाउँ चसोतीमा आएको बाढीमा कम्तिमा ४६ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

Advertisement
Advertisement

मृत्यु हुनेमा दुई जना केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ)का जवानसमेत छन्।

Advertisement

दिउँसो करिब १ बजे चसोतीमा अकास्मात आएको बाढीले त्यहाँ रहेका घर, पसल, एक सुरक्षा चौकी र तीर्थयात्रीहरूका लागि बनाइएको ‘लंगर’ (सामुदायिक भान्सा) बगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

चसोती हुँदै प्रसिद्ध धार्मिक तीर्थस्थल मचैल माता मन्दिर जाने धेरै तीर्थयात्रीहरू बाढीमा परेका छन्। यसपालि जुलाई २५ देखि मचैल माता यात्रा वार्षिक तीर्थयात्रा चलिरहेकाले त्यस क्षेत्रमा ठूलो संख्यामा तीर्थयात्रीहरूको भीड थियो।

बाढी पहिरोमा परेका १६७ जनाको उद्धार भएको छ। तीमध्ये ३८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल, भारतीय सेना, प्रहरी र स्थानीय स्वयंसेवकहरूको संयुक्त टोलीले रातभरि उद्धार कार्य जारी राखेको थियो।

जिल्लाका उपायुक्त पंकज शर्मा र एसएसपी किश्तवाड नरेश सिंहले खोजी तथा उद्धारका लागि १२ वटा एक्स्काभेटर प्रयोग गरिएको छ। नागरिक र तीर्थयात्रीहरूलाई सहयोग गर्न जिल्लाभरि कन्ट्रोल रुम र हेल्प डेस्क स्थापना गरिएको छ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनीहरूले स्थितिलाई नजिकबाट नियालिरहेको र पीडितलाई हरसम्भव सहयोग गरिने बताएका छन्। कंग्रेस नेता राहुल गान्धीले पनि घटनालाई अत्यन्तै दुःखद भन्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

विपत्तिको गम्भीरतालाई ध्यानमा राख्दै अधिकारीहरूले वार्षिक मचैल माता यात्रा तत्कालका लागि स्थगित गरेका छन्।

जम्मू-कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने चियापानलगायत अन्य सांस्कृतिक कार्यक्रमहरू रद्द गरेको घोषणा गरेका छन्। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय नेताहरूले चेतावनी दिएका छन्।