
नेपालअखबार,काठमाडौं । भारतको सत्तारुढ दल भाजपा र नेपालको सत्तारुढ दल रास्वपाबीच दुई दलीय सम्बन्ध र राजनीतिक कार्यदिशाबारे छलोफल भएको छ ।
रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नविनबीच भएको आजको भेटमा दुई देश र पार्टीबीच सम्बन्ध मजबुत बनाउनेबारे कुरा भएको हो ।
आजको भेटवार्तापछि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले विज्ञप्ति जारी गर्दै दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन यो वार्ता महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।
दुवै दलका संवादलाई कूटनीतिक रूपमा अघि बढाउन यस वार्ताको महत्त्व रहेको उल्लेख छ ।
भाजपाको ‘नो बीजेपी’ अभियान अन्तर्गत रास्वपा सभापति रवि लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भाजपाकै निमन्त्रणामा दिल्ली गएको हो ।
बैठकका क्रममा भाजपाको सांगठनिक संरचना र राजनीतिमा जेन जीको बढ्दो भूमिका र सम्भावनाबारे दुवै पक्षबीच विमर्श भएको थियो । संवादपछि नेपाली प्रतिनिधिमण्डलले भाजपाको आधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको अवलोकन गरेको विज्ञप्तिमा छ।

