Wednesday, July 1

काम गरेको ज्याला उठाउन नसकेका ‘बन्दिपुर’ रोकिए चुमभ्यालीमा

नेपालअखबार, तनहुँ। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुंगा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो-‘बन्दिपुर।’

Advertisement

बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो।

Advertisement
Advertisement

कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर, ‘ओइ कान्तिपुर’ पनि भन्ने गर्छन्।

Advertisement

‘मेरो त नामै बन्दिपुर भइसक्यो, कहिलेकहीँ म आफै पनि आफ्नो वास्तविक नाम भुल्छु। कसैले के हो भनेर सोध्दा, म बन्दिपुर भन्न जान्छु”, विगत १० वर्षदेखि उत्तरी गोरखाको चुमभ्यालीमा हराइरहेका सुमन थापामगरले भने।

घर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–८ जालभञ्ज्याङ बताउने उनी १४–१५ वर्षदेखि गोरखाको हिमालपारिको गाउँमा छन्।

केही वर्षदेखि चुमनुब्री गाउँपालिका–७ को छेकम गाउँमा बस्दै आएका उनी चुमभ्यालीमा प्रवेश गरेको भने १० वर्ष भयो। त्यसअघि चुमनुब्री–३ फिलिम गाउँमा करिब पाँच वर्ष बसेका थिए।

उनी २०६८–६९ सालमा आरुघाट बजारमा ज्यामी काम गर्न आएका थिए।

‘एकजना तुफान भन्ने ठेकेदारको काम गर्न आएको, सोतीमा दिनगन्ती १३८ दिन काम गरियो’, विगत सम्झँदै उनले भने, ‘काम सकेपछि ठेकेदारले पैसै नदिई बिचल्ली बनाएर भाग्यो, त्यसपछि भाग्य बिग्रेको अहिलेसम्म बिचल्लीमै छु।’

सोतीमा काम सकेर बन्दिपुर फर्कने योजना थियो सुमनको। त्यो योजना आजसम्म पनि पूरा हुनसकेको छैन। पन्ध्र वर्षदेखि पारिश्रमिक उठाउन नसकेका कारण उनी यहीँ फसेका छन्।

सोतीमा काम गरेको पैसा नपाएपछि त्यहाँबाट तीन दिन हिँडेर उनी सिर्दिवासको फिलिम पुगेका थिए।

२०७२ को गोरखा भूकम्पअघि उनी त्यहाँ स्वास्थ्यचौकी बनाउने काम गर्थे।

फिलिमबाट पनि उनी बन्दीपुर फर्किएनन्। त्यहाँ पनि श्रम गरेको सबै ज्याला प्राप्त भएन। सुमन जोङगाउँका नाम्ग्याल दोर्जे भन्नेसँग काम गर्न फिलिम आएका थिए।

‘सोतीमा पैसा नपाएपछि सिर्दिबास आएँ। यहाँ पनि उत्तम भट्ट भन्ने ठेकेदारसँग काम गरेको पैसा पाइनँ। नाम्ग्याल दोर्जेले पनि काम लगाएमात्र पैसा दिएनन्,’ उनले भने।

काम गरेको ज्याला नपाएपछि घर जान नपाएका सुमन ठेकेदारहरूका कारण पटकपटक बिचल्लीमा परिरहे छन् उनी।

ज्याला नपाएको तोडमा झन् उँभो, झन् उँभो सर्दै चुमभ्यालीमा फस्न थालेका छन्।

उकालो चढ्दै जाँदा हराएको घर फर्किने बाटो जीवनले कहिलेकाहीँ मानिसलाई बाटो रोज्न दिँदैन। एउटा अधुरो हिसाब उठाउन खोज्दा सुमन अर्को अधुरो हिसाबमा फस्दै गए।

उनी पैसा खोज्दै उकालो लागे तर उकालो चढ्दै जाँदा घर फर्किने बाटो भने झन् ओझेल पर्दै गयो। सुमन पैसा खोज्दै हिँडेको मान्छेभन्दा पनि पैसा नपाउने चक्रमा फसेको मान्छेचाहिँ हुँदै गए।

नाम्ग्याल दोर्जे नामक ठेकेदारले सुमनलाई फिलिममा काम गरेको पैसा ‘सोतीमा दिन्छु’ भनी सोतीमा लगेर ५०० रुपैयाँमात्र दिएर छाडे। सुमन सोतीमा पुनः दोस्रोपटक बिच्चलीमा परेका थिए।

पाँच सय रुपैयाँले बन्दीपुर जान सम्भव नभएपछि उनी फिलिम नै फर्किए। यो २०७२ को भूकम्पको बेलातिरको कुरा हो।

भूकम्पपछि उनले फिलिममा छिरिङ पासाङ नाम गरेका अर्का ठेकेदारसँग काम गरे। पासाङले पनि उनलाई पारिश्रमिक दिएनन्। बरु काम गरेको पैसा काठमाडौँ गएर दिन्छु भनेर उनलाई चुमभ्यालीको छेकम्पार लगे।

‘काठमाडौँ भनेर यता ल्यायो, न त काम गरेको पैसा नै पाएँ। त्यत्रो काम गरेको यहाँ (छेकम्पार) ल्याएर जम्मा तीन हजार दिएर छाड्यो’, उनले भने, ‘बिरानो गाउँमा बिना पैसा गुजारा गर्न सकिन्थेन, त्यसैँले यहाँ गाउँमा जे काम पाउँछ त्यही गर्न थालेँ। जसोतसो खान त पुग्यो तर सबैले पैसामा मारे। काम भने मरुन्जेल लाउने तर पैसा नदिने चलन रैछ ठेकदारको। पैसा पाएपछि घर जाउँला भनेर बसेँ। पन्ध्र वर्ष भयो, न त पैसा आयो, न त घर नै जान पाएँ।’

सुमनले सोती र फिलिममा गरेर करिब पाँच वर्ष ज्यामी मजदुरीको काम गरेका थिए तर पारिश्रमिक पाएनन्। छेकम गाउँमा विगत १० वर्षदेखि अधिकांशको घरमा उनी ज्याला मजदुरी गर्न बसेका छन्।

प्राय:ले भातकै भरमा उनलाई काम लगाउने गर्छन्।

सुमनको हात भाँचिएको महिना दिन भयो। छेकमका छिरिङ पाल्जोरले आफ्नो हात भाँचिदिएको उनको आरोप छ।

एक महिनाअघि छिरिङ पाल्जोरसँग सहयोगीका रुपमा छेकम्पारको छेके लेक पुगेका पनि थिए उनी।

साहुहरू लेकमा कीरा (यार्सागुम्बा) टिप्न जाँदा भरियाका रूपमा आफूहरूलाई लिएर गएको सुमनले बताए।

‘बिहान भात, बेलुकी भात, दिनभरि भोकभोकै खटिनुपथ्र्यो। उनीहरू कीरा टिप्थे, हामी भरियाहरू सल्लाको फूल। उनीहरूको भारी बोक्ने, चौँरी हेर्ने काम गर्नुपर्थ्यो। साह्रै दुःख भयो भनेर म र अर्को भाइ गाउँ फर्कियौँ। नसोधी आइस् भनेर छिरिङ पाल्जोरले यहाँ गाउँमा आएर हात भाँच्चिने गरी पिटे,’ उनले भने।

बारपाकबाट काम गर्न आएका एक भरियाले ज्याला माग्दा कुटाइ पाए। ढाडमा गम्भीर चोट लागेका उनीचाहिँ सहेर बसेनन्, घर फर्किए। सुमन भने फर्कन सकेनन्। उनका लागि साहुले हातखुट्टा भाँचिदिने विषय सामान्य भइसकेको थियो।

छिरिङ पाल्जोरले सुमनको हात भाँच्दै गर्दा छेकम्पार चौकीका प्रहरीहरू प्रत्यक्षदर्शी थिए। न प्रहरीले उहाँलाई न्याय दिलायो न त स्थानीयवासीले नै। सबैजना मूकदर्शक बनेर हेरिरहेको उनले बताए।

सुमनको दौँतरीहरू धने नेपाली र अर्बिन मगर छन्। उनीहरू पनि तल्लो भेगबाट रोजगारीका लागि छेकम्पार पुगेका हुन्।

धनबहादुर नेपाली र अर्बिन मगर केही वर्षअघि मात्र चुमभ्याली आएका थिए। आफूहरू रोजगारीका लागि भौँतारिँदै चुमभ्याली आएको उनीहरूले बताए। सबैको साझा समस्या हो, काम गरेको पारिश्रमिक नपाउनु।

फेरि सुमनकै चर्चा गरौं, हात भाँचिएपछि उनको उपचार स्थानीय छेकम गुम्बाको लामाले गरिदिएका छन्। लामाले झारफुक गरेर जडीबुटी खुवाएको उनले बताए। तर हात अझै निको भइसकेको छैन।

अहिले सुमन छेकम गाउँमा स्थानीय धवाङ्दी लामाको सानो टहरोमा बस्छन्। दिनभर काम गरेर साँझ बिहानको छाक टार्ने उनी हात भाँचिएका कारण धेरै कामहरू गुमाउनुपरेको बताउँछन्। उनले आलु खाएर जीवन विताउनुपरेको बताए।

उनले छेकम गाउँमा मात्र लाखौँ रुपैयाँ ज्याला उठाउन बाँकी रहेको बताए।

उनलाई बेलाबखत आफ्नो गाउँघरको यादले पिरोल्छ। गाउँमा साथीसङ्गीसँग मगर कुरामा ठट्टा गरेको उनलाई हिजोझैँ लाग्छ। गाउँमा उनकी आमा छिन् भने दुई दाइभाइ र दुई बहिनी पनि छन्। सुमनको आफ्नो परिवारसँग अन्तिम पटक कुराकानी भएको पनि १० वर्ष बित्यो।

छेकमवासीले हरेक दिन ‘ओइ बन्दिपुर’ भनेर बोलाउँदा उनलाई आफ्नो घरको झल्को आउँछ। बन्दीपुरबाट पैसा कमाउन निस्किएका सुमन आज बन्दिपुरकै नाम बोकेर चुमभ्यालीमा छन्। उनी ज्याला पाएकै भोलिपल्ट घर फर्कने योजनामा छन्।