Monday, July 6

अन्तिम श्रद्धाञ्जलीमा देखिए खामेनीका तीन छोरा

नेपालअखबार,काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रममा उनका तीन छोराहरू देखिएका छन्।

Advertisement

आइतबार तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहमा खामेनीका तीन छोराहरू मुस्तफा, मेइसम र मसउद उनका परिवारका अन्य सदस्यसँगै अन्तिम श्रद्धाञ्जलीमा सहभागी भएका हुन्।

Advertisement
Advertisement

उनीहरूले आफ्ना पिताको मृत शरीर राखिएको कफिनअघि उभिएर प्रार्थना गर्दै गरेको भिडिओ सार्वजनिक भएको हो।

Advertisement

मोस्तफा खामेनीका जेठा छोरा हुन्। मसउद साइँलो र मेइसम कान्छा छोरा हुन्।

माइला छोरा मोज्तबा खामेनी भने अहिले सर्वोच्च नेता छन्।

अली खामेनी फेब्रुअरी २८ मा अमेरिका र इसराइलको संयुक्त हमलामा मारिएको दस दिनपछि उनी सर्वोच्च नेता बनेका थिए।

तर अहिलेसम्म उनी सार्वजनिक भएका छैनन्। बुवालाई अन्तिम श्रद्धाञ्जली दिन पनि उनी नआएपछि मोज्तबाको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता प्रकट भएको छ।

फेब्रुअरी २८ को आक्रमणमा उनकी श्रीमती र छोरा पनि मारिएका थिए। त्यस दिन मोज्तबा घर बाहिर कम्पाउन्डमा भएका कारणले पनि जोगिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बुवाको अन्तिम श्रद्धाञ्जलीमा नदेखिनु सुरक्षाका कारण हुन सक्ने पनि भनिएको छ।

सुरूवातमा फेब्रुअरी २८ को आक्रमणमा उनी पनि घाइते भएकाले भूमिगत सुरक्षामा उपचार चलिरहेको विषय मोज्तबा सर्वोच्च नेता चयन भएको एक महिनापछि सार्वजनिक भएको थियो।

उनको अनुहार र खुट्टामा गम्भीर चोट लागेको र अनुहारमा विकृति आएको भनिएको छ।

स्वास्थ्य अवस्था गम्भीर भए पनि उनी मानसिक रूपमा सक्षम रहेको र अडियो कन्फरेन्समार्फत वरिष्ठ अधिकारीहरूसँग बैठकमा सहभागी भइरहेका छन् भनेर पनि त्यतिबेला इरानी अधिकारीहरूले बताएका थिए।

युद्ध र अमेरिकासँगको वार्ताजस्ता महत्वपूर्ण निर्णय प्रक्रियामा पनि अप्रत्यक्ष रूपमा संलग्न रहेको पनि अधिकारीहरूको भनाइ थियो।

विश्लेषकहरूले भने त्यतिबेलै खामेनीलाई आफ्ना पिताजस्तै सत्तामा पूर्ण नियन्त्रण स्थापित गर्न समय लाग्न सक्ने भनेका थिए।

पछिल्लो समय उनका लिखित सम्बोधनहरू इरानी सञ्चारमाध्यमबाट प्रसारण हुँदै आइरहेको छ। इरान तल पर्ने गरी अमेरिकासँग परमाणु कार्यक्रमबारे सम्झौता नगर्नू भनेर वार्ताकारहरूलाई निर्देशन दिएको विषय पनि सार्वजनिक भएको थियो।

खामेनीको अन्तिम शोक यात्रामा सोमबारसम्म दसौं लाख नागरिक सहभागी भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।