
नेपालअखबार,काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न गएका बिनु यादव र निहारिका राजपुतमाथि प्रहरीले मुद्दा चलाएको छ।
बिनु र निहारिकालाई बिहीबार प्रहरीले बालुवाटारबाट नियन्त्रणमा लिएको थियो।
दुवै जनाविरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
निषेधित क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गरेपछि उनीहरूलाई पक्राउ गरी मुद्दा चलाइएको एसपी भट्टराईले जानकारी दिए।
बिहीबार नै उनीहरूलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए।
पक्राउ परेका उनीहरूलाई हाल प्रहरी वृत मालिगाउँमा राखिएको छ।
यसअघि बिनु यादव सिंहदरवामा धर्ना बसिरहेकी थिइन्। एक सातासम्म आफ्ना मागहरू सम्वोधन नभएको भन्दै बिहीबार उनी बालुवाटार पुगेकी थिइन्।
उनले आफ्नो बलात्कार मुद्दामा प्रहरीले शंकास्पद भूमिका खेलेको भन्दै कारवाहीको माग गरेको थिइन्। त्यही विषयमा आफ्ना कुरा राख्न गृह मन्त्रीसँग भेट्न चाहेको भन्दै उनी सिंहदरबार पुगेकी थिइन्।
निहारिकाले पनि आफूमाथि भएको हिंसाको कुरा सुनाउन गृहमन्त्रीलाई भेट्न चाहेको बताउँदै आएकी थिइन्। सिंहदबारको गेटमा जाँदा उनीहरूलाई प्रहरीले लछारपछार पनि गरेको थियो।




