Friday, July 24

भदौ २४ का दोषीलाई कारबाही गर्न सरकारसँग माधव नेपालको आग्रह

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा भएका विध्वंसलाई आपराधिक घटना भएको बताएका छन् ।

Advertisement

काठमाडौँमा शुक्रबार आयोजित ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा नेपालले उक्त घटनामा संलग्नमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले गत भदौ २४ गते इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारीलगायतका शालिक तोडफोड गरिएकोप्रति आपत्ति जनाए ।

Advertisement
Advertisement

‘भदौ २४ गते भएका घटनाका दोषीलाई सरकारले कारबाही गरेर देखाओस् । पार्टीले तमासा गर्ने बेला होइन । त्यसमा सरकारको नेतृत्व गरेको पार्टी गम्भीर बनोस्,’ नेपालले भने, ‘राष्ट्रका सम्पत्ति सिंहदरबारदेखि सबै जलाउने काम गरेको छ । यो एकदमै आपराधिक घटना हो । देशको अवस्था गम्भीर देखिन्छ । राष्ट्रियता नै खतरामा परेको देखिन्छ । देश जोगाउने, बचाउने विषयलाई केन्द्रबिन्दुमा राख्नोस् ।’

Advertisement

कार्यक्रममा नेपालले वामपन्थी वा लोकतान्त्रिक शक्ति भनेर अहिले ध्रुवीकृत गर्ने बेला नभएको बताए । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयमा वामपन्थीहरूले समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

‘वामपन्थीले पनि विगतको आत्मसमीक्षा गर्न आवश्यक छ । हामी कहाँ चुक्यौँ ? हाम्रो जीवनशैली, आचरण र व्यवहार सुधार गर्न आवश्यक छ । सत्तामा जाँदैमा विदेशीसामु झुक्नुपर्छ भन्ने छैन । विदेशीका स्वार्थ बुझेर राम्रो काम स्वीकार गर्नुपर्छ । धेरै अतिवादी र घुँडा टेक्ने पनि गर्नु भएन । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाबारे नयाँ डिस्कोर्स गरौँ । गम्भीर समीक्षा गरी नयाँ शिराबाट अगाडि बढौँ,’ नेपालले भने ।