Saturday, November 21

आगन्तुकको टोपी खाएपछि विश्वभर चर्चित हिप्पो फियोनाको मृत्यु

नेपालअखबार,सिनसिनाटी । अमेरिकाको सिनसिनाटी चिडियाखानामा विश्वभर चर्चित जलगैँडा फियोनाको नौ वर्षको उमेरमा मृत्यु भएको छ ।

Advertisement

चिडियाखानाका अनुसार आगन्तुकको बुनेको टोपी गल्तीले उसको वासस्थानमा खसेपछि फियोनाले निल्दा आन्द्रामा अवरोध उत्पन्न भएको थियो । उपचारका क्रममा चिडियाखानाका पशु चिकित्सक र हेरचाह टोलीले निरन्तर प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।

Advertisement
Advertisement

चिडियाखानाका निर्देशक डेभ जेनीकेले बिहीबार जारी विज्ञप्तिमा आफूहरू स्तब्ध भएको बताए । ‘हामीले यस्तो परिणामको अपेक्षा गरेका थिएनौँ । फियोनाले अन्तिम समयसम्म संघर्ष गरिन्,’ उनले भने ।

Advertisement

२ हजार पाउन्ड (करिब ९०७ किलो) भन्दा बढी तौल भएकी फियोनाको शल्यक्रिया सम्भव नभएको चिडियाखानाले जनाएको छ । उपचारका लागि पशु चिकित्सक र मानव चिकित्साका विशेषज्ञसँग समेत परामर्श गरिएको थियो । टोपीलाई उनको शरीरबाट निकाल्न पटक–पटक प्रयास गरिए पनि सफल हुन सकेन । अन्ततः आवश्यक उपचार गर्दा पनि उनको स्वास्थ्य सुधार हुन सकेन ।

चिडियाखानाका सञ्चार निर्देशक मिसेल कर्लेका अनुसार एक साताभन्दा बढी समयअघि टोपी वासस्थान अगाडि हावामा उडाइएको थियो । त्यसपछि छतको पङ्खामा अड्किएको टोपी त्यहाँबाट उछिट्टिएर १२ फिट अग्लो अवलोकन झ्यालमाथि रहेको खाली ठाउँबाट भित्र पुगेको थियो ।

  • आन्द्रामा अवरोध हुँदा ज्यान जाने जोखिम

मियामी चिडियाखानाकी पशु चिकित्सक तथा जलगैँडा विशेषज्ञ डा. गाब्रिएला फ्लाकेले यस्ता वस्तु निल्दा जनावरको आन्द्रामा अवरोध उत्पन्न हुन सक्ने बताइन् । फियोनाको अल्ट्रासाउन्ड परीक्षणमा आन्द्रा खुम्चिएको देखिएको थियो, जसले सानो आन्द्राबाट कुनै वस्तु गुज्रिरहेको सङ्केत गरेको थियो । वस्तु अड्किएपछि त्यस वरिपरिको आन्द्रामा दबाब बढ्ने, रक्तप्रवाह बन्द हुने र तन्तुहरू मर्न थाल्ने उनले बताइन् । यस्तो अवस्था छिट्टै गम्भीर बन्न सक्छ ।

जलगैँडाको ठूलो शरीर, बाक्लो छाला र शल्यक्रियापछि घाउ निको हुन कठिन हुने कारण पनि शल्यक्रिया जोखिमपूर्ण हुन सक्ने उनले बताइन् ।

  • समयअघि जन्मिएर विश्वभर चर्चित

फियोना सन् २०१७ मा निर्धारित समयभन्दा छ हप्ता पहिले जन्मिएकी थिइन् । जन्मिँदा उनको तौल केवल २९ पाउन्ड (करिब १३ किलो) थियो, जबकि जलगैँडाका बच्चाको सामान्य जन्म तौल करिब १०० पाउन्ड हुन्छ ।

आफ्नी आमा बिबिबाट दूध चुस्न आवश्यक समयसम्म उभिन नसक्ने भएपछि चिडियाखानाका कर्मचारीले विशेष हेरचाह गरेका थिए । सिनसिनाटी चिल्ड्रेन्स अस्पतालका नर्सहरू पनि उनको उपचार र स्याहारमा सहभागी भएका थिए । उनीहरूको टोलीलाई ‘टिम फियोना’ नाम दिइएको थियो ।

फियोना स्वस्थ हुँदै गएपछि चिडियाखानाले सामाजिक सञ्जालमा उनका तस्बिर र भिडियो सार्वजनिक गर्न थालेको थियो । उनका भिडियोहरू भाइरल भएपछि विश्वभर प्रशंसक बढेका थिए । ‘टिम फियोना’ नाममा टी–सर्ट, म्याग्नेटलगायत सामग्री बिक्री हुन थाले । स्थानीय ब्रुअरीले उनको सम्मानमा विशेष बियर उत्पादन गरेको थियो भने स्थानीय कपडा कम्पनीले टी–सर्ट बिक्रीबाट प्राप्त रकम चिडियाखानालाई दिने व्यवस्था गरेको थियो ।

फियोनालाई हेर्न अस्ट्रेलिया, जर्मनी, ब्राजिल र जापानसम्मबाट मानिस सिनसिनाटी पुगेका थिए । थुनिएर राखिने सामान्य जलगैँडाको जीवनकाल ४० देखि ५० वर्षसम्म हुने भएकाले नौ वर्षमै उनको मृत्यु असामयिक मानिएको छ ।

  • प्रशंसकहरू शोकमा

फियोनाको मृत्युले सिनसिनाटीका बासिन्दा तथा विश्वभरका प्रशंसकलाई स्तब्ध बनाएको छ । सिनसिनाटीका मेयर आफ्ताब पुरेवालले उनलाई सहरको दृढता र खुसीको प्रतीक बताएका छन् । ओहायोका गभर्नर माइक डिवाइन र नवनिर्वाचित गभर्नर एमी एक्टनले पनि दुःख व्यक्त गरेका छन् ।

चिडियाखानाबाहिर फियोना र उनकी आमाको मूर्तिनजिक प्रशंसकहरूले गुलाबी र सेतो फूल तथा श्रद्धाञ्जली कार्ड राखेका छन् । एक प्रशंसकले उनलाई आफ्नो चिडियाखाना भ्रमणको मुख्य गन्तव्य भएको बताउँदै फियोनाको संघर्ष र प्रशंसकसँगको आत्मीय व्यवहार सम्झिएका छन् ।