अर्थप्रदेश ४राजनीतिसमाचारहाइलाइट-समाचार

बुढीगण्डकी आयोजना ! पुर्नवासको रणनीति बन्दैछ ः प्रचण्ड (भिडियो सहित)


गोरखा । राष्ट्रिय गौरवका रुपमा लिइएको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाले अब गति लिने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रथम शहिद लखन थापा र जयसिंह चुमी राना मगरको १४३ औं स्मृती दिवशका अवसरमा शहिद लखन गाउँपालिका ७ को बुंकोटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना निर्माणको प्रकृया अघि बढाएको बताए ।

‘आयोजनामा केहि समस्या र जटिलता थिए, ति सबै हटिसकेको छ’ प्रचण्डले भने ‘आयोजनाबाट विस्थापितका लागि सरकारले नै पुर्नवासको ब्यवस्था मिलाउछ, त्यसका लागि रणनीति बन्दैछ ।’

बुढीगण्डकी गोरखा र धादिङको मात्रै नभई सिंगो देशकै गौरवको आयोजना भएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका उनले सरकारले सोचेजस्तो गति लिन नसकेको बताएका छन् ।

‘हामीले सोचे अनुसार विकासले गति लिन नसकेको पक्कै हो’ उनले थपे ‘सबै कुरा एकै चोटी सम्भव हुदैन, तर अब ढिला गर्नुपनि हुदैन, सम्मृद्धिले अब गति लिनुपर्छ ।’

देशको पछिल्लो विकास निर्माणका बारे केन्द्रिय समितिको बैठकमा समेत छलफल भएको जानकारी गर्दै प्रचण्डले आगामी दिनमा सम्मृद्धिले गुणात्मक छलाङ मार्ने गरी काम गर्नुपर्ने बताए ।

फरक प्रसंगमा बोल्दै उनले देश परिवर्तनका लागि बिभिन्न कालखण्डमा सबै पार्टीले हतियार उठाएको प्रसंग सुनाए । २००७ सालमा नेपाली काँग्रेस, २०२८ सालमा झापाबाट युवाहरुले र २०५२ सालमा नेकपा माओवादीले हतियार उठाएको स्मरण उनले गरे ।

जहाँनिया राणा शासनको बिरुद्ध लड्दा लखन थापा लगायतले ज्यान गुमाउनुपरेको भन्दै उनको बलिदानीको प्रसंशा समेत गरे । ‘परिवर्तनका बोल्दा लखन थापालाई झुण्ड्याइयो’ उनले भने ‘बिभिन्न कालखण्डमा देशका लागि सहादत दिने उनी जस्ता हजारौ शहिदहरुको सपनालाई सजाएर हामी सम्मृद्धिको बाटोमा अघि बढेका छौ ।’

२०५२ सालमा जनयुद्धको अन्तिम तयारीको दस्तावेजमा आफुले लखन थापाको विद्रोहका बारेमा लेखेको स्मरण गर्दै त्यो समय सम्झदा गौरवको महसुस हुने बताए । शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाले प्रचण्डलाई ५ बुदे अनुरोध पत्र समेत बुझाएको छ ।

अनुरोध पत्रमा प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभुतीका रुपमा घोषणा गर्नुपर्ने, जयसिंह चुमी मगरलाई शहिद घोषणा गरिनुपर्ने, उनिहरुले सहादत प्राप्त गरेको दिन फागुन २ लाई राष्ट्रिय विदा घोषणा गर्नुपर्ने, उनिहरुको योगदानका बारेमा बिभिन्न पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने र बुंकोटको काउलेभंगारमा संग्रहालय, स्मृती पार्क जस्ता संरचना निर्माण गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, कृषि सहकारी मन्त्री एवं नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापा, नेपाली काँग्रेस गोरखाका जिल्ला कोषाध्यक्ष कृष्ण आले, शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रमका अवसरमा शहिद लखन गाउँपालिका भित्रका शहिद परिवारलाई सम्मान समेत गरिएको थियो भने लखन थापा र जयसिंह चुमी मगरको बारेमा रुद्र बहादुर राना र जीवन आले मगरद्धारा लेखिएका दुई पुस्तक समेत विमोचन गरिएको थियो ।

त्यस्तै शहिद लखन गाउँपालिकाको आर्थिक सहयोगमा पत्रकार भिमलाल श्रेष्ठद्धारा निर्माण गरिएको शहिद लखनका गन्तब्यहरु नामक बृत्तचित्रको समेत विमोचन गरिएको छ ।

हेर्नुस भिडिओ ।

the authoradmin

Leave a Reply