Saturday, May 23

जुवाडे पछ्याउँदा २४ राउण्ड गोलीसहित हतियारसमेत बरामद

नेपालअखबार, पोखरा । जुवा खेलिरहेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा–२२ खाल्सेमबाट ६ जना जुवाडे पक्राउ गरेको छ ।

जुवाडे पछ्याउँदै गएको प्रहरीले २४ रोउण्ड गोली, एक नाले बन्दुक र १ थान म्याग्जिनसमेत बरामत भएको छ ।

Advertisement

प्रहरीलाई कौडा खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले विशेष टोली नै खटाएको थियो । पोखरा–२२ खाल्सेस्थित चिसाखोलामा भेषबहादुर गुरुङको घरमा जुवा (कौंडा) खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने घर खानतलासी गर्दा २४ राउण्ड गोली, एक नाले बन्दुक र १ थान म्याग्जिनसमेत फेला पारेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

अत्याधुनिक रुपमा सेन्सर जडान गरी सेन्सरलाइट एवं रिमोटबाट सञ्चालन हुने डिजिटल प्रणालीको प्रयोग गरी जुवातास खेल्दै गरेका मानिसहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भेषबहादुरसहित पोखरा–१० अमरसिंहचोक बस्ने बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोक बस्ने सुरेन्द्र शाह, पोखरा–१५ रामबजार बस्ने दिपेन्द्र सेन, पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना र सोही वडाको बुढीबजार बस्ने सन्दीप भन्ने डोरबहादुर गुरुङ पक्राउ परेका हुन् । उनीहरुको साथबाट ८२ हजार ९ सय ९० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

जुवा खेलाउनको लागि जमिनमा खाडल खनेर लाइनको तारसमेत जडान गरेको गोलाकार सेन्सरमेसिन (अर्थिङ बक्स) १ थानसमेत प्रहरीले फेला पारेको छ । रातो रंगको डिजिटल स्टेप्लाइजर १ थान र डिजिटल स्टेपलाइजरबाट जडान गरी जुवा खालमा हेर्न मिल्ने गरी रातो र निलो सेन्सर लाइट जडान गरेको रातो पहेलो रंगको तार १४ मिटर र रिमोट २ थान बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भेषबहादुरको घरमा खानतलासी गर्ने क्रममै एक नाले बन्दुक, गोलीसमेत फेला पारेको विकले जानकारी दिए । जुवातासमा पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर मुद्धा अगाडि बढाइएको छ भने भेषबहादुरलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।