अर्थकृषिसमाचार

विश्वव्यापी फैलिएको कोरोना रोकथामसँगै स्वरोजगार अभिवृद्धि प्राथमिकतामा

Nepal Akhabar

नेपाल अखबार, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धिका कार्याक्रमलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज कुँवरले कोरोना सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उनले बताए ।
कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रका रूपमा घोषणा गर्दै आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने गाउँपालिकाले नीति लिएको छ ।
स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवं संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न गाउँपालिकावासीलाई सचेतना अभिवृद्धि गर्न ‘खाना नफालौँ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए । गाउँपालिकाले ‘एक कृषक, एक दुहुनो गाई र भैँसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने नीति लिएको छ ।
पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न गाउँपालिकास्तरीय पर्यटन गुरुयोजना निर्माण गर्नुका साथै पर्यटकीय पूर्वाधार निर्माणका लागि डिपिआर तयारी गर्ने, एवं यस क्षेत्रको प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटी डकुमेन्ट्री फिल्म निर्माण गरी पर्यटकीय सम्भावनाको प्रचारप्रसार, संरक्षण र प्रवद्र्धन गरिने जनाइएको छ ।
नेपालको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र एवं गन्तव्यका रूपमा रहेको घान्द्रुकलाई सांस्कृतिक गाउँको रूपमा घोषणा गर्न आवश्यक पूर्वाधार संरचना निर्माण गरी परम्परागत सांस्कृतिक गाउँको पहिचान कायम गर्ने नीति लिइने गाउँपालिकाले भनेको छ । गाउँपालिकाभित्र स्थापना भएका सहकारीको गुणस्तर र प्रभावकारितालाई नियमन, अनुगमन र सहकारी शिक्षामा जोड दिँदै सहकारी दर्ता प्रक्रियालाई सहज र सरल तुल्याइने अध्यक्ष कुँवरले बताए।
‘एक गाउँ, एक सडक’ निर्माण कार्यलाई निरन्तरता दिई अधुरा सडक ट्रयाकको पूर्णताका साथै गाउँपालिका केन्द्र एवं मध्य पहाडी लोकमार्गदेखि वडा केन्द्र जोड्ने रणनीतिक महत्वका सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन हुने अवस्थामा ल्याइने अध्यक्ष कुँवरले बताए। अन्नपूर्ण पोलिटेक्निकल इन्स्टिच्युटका लागि आवश्यक जग्गा उपलब्ध गराई सञ्चालनका लागि आफ्नै भवन निर्माण कार्य अगाडि बढाइने गाउँपालिकाले भनेको छ । शिक्षकको मनोबल उच्च राख्न ‘शिक्षकलाई सम्मान गरौँ, बालबालिकालाई माया गरौँ’ भन्ने आदर्शलाई प्राथमिकतामा राखी शिक्षण पेशालाई सम्मानित र मर्यादित पेशाका रूपमा विकास गरिने अध्यक्ष कुँवरले बताए।
सङ्क्रामक रोग, महामारी तथा दैवी प्रकोपजस्ता समस्यामा पनि शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन दूर तथा वैकल्पिक शिक्षा कार्यक्रमलाई प्रयोगमा ल्याइने भनिएको छ । विद्यालय प्राथमिक स्वास्थ्यसेवा कार्यक्रम विस्तार गर्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको थालनी गरिने अध्यक्ष कुँवरले बताए ।
आगामी दुई वर्षभित्रमा खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूतस्तरको खानेपानी पुर्याउन सङ्घ, प्रदेश सरकार र अन्य गैरसरकारी सङ्घसंस्थासँग साझेदारीमा ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई सम्पन्न गरिने नीति तथा कार्यक्रममा भनिएको छ गाउँपालिकाअन्तर्गतका पुरातात्विक महत्वका मठ, मन्दिर, पाटी, पौवा, कुवा, पोखरी, चौतारी, विश्रामस्थल र त्यसको महत्वसँग जोडिएका रुख बिरुवाको संरक्षण गरी यस्ता स्थानमा वर, पीपल, समीलगायत बिरुवा रोपण गर्ने नीति लिइएको छ । कोरोनालगायत महामारीजन्य रोगबाट सुरक्षित रहन जनप्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक परिचालन गर्दै सचेतनाका कार्यक्रम सञ्चालन गरी सावधानीका उपाय अवलम्बन गरिने गाउँपालिकाले जनाएको छ ।
सेवा प्रवाह गर्ने स्थल सङ्क्रमणको माध्यम नबनोस् भन्ने तथ्यप्रति सचेत हुँदै सार्वजनिक सेवा प्रवाहलाई कागजरहित बनाई विद्युतीय शासन पद्धतिको क्रमशः लागू गर्दै जाने नीति अवलम्बन गरिने अध्यक्ष कुँवरले बताए ।
स्थानीय तहलाई प्राप्त राजस्वसम्बन्धी अधिकारको प्रयोग गर्दै गाउँपालिकालाई आर्थिकरूपमा समृद्ध एवं आत्मनिर्भर बनाउन राजस्वका सबै सम्भावना र क्षेत्रको खोजी गर्दै प्रगतिशील र समतामूलक ढङ्गले करका दर निर्धारण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अपाङ्गता भएका व्यक्ति, एकल तथा बिधवा महिलालाई जुनसुकै प्रकारको व्यवसाय सञ्चालन गर्दा व्यवसाय दर्ता करमा ५० प्रतिशत छुट दिइने नीति लिइएको छ । कोरोना भाइरसका कारण लामो समयसम्म बन्दाबन्दी भई पर्यटन व्यवसाय तथा अन्य व्यापार व्यवसाय सञ्चालन नभएकाले सम्पूर्ण व्यवसायको आव २०७६/०७७ को बक्यौता रकममा लाग्ने जरिवानामा पूर्ण छुट दिइने गाउँपालिकाले भनेको छ ।
‘अन्नपूर्ण समृद्धिको लागि नियमित तिरौँ करः तिरेको कर विकासमार्फत फर्किन्छ घर घर’ मान्यताका साथ प्रत्येक वर्ष सबै वडामा करदाता शिक्षा कार्यक्रम तथा घुम्ती कर सङ्कलन सप्ताह अभियानका रूपमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवालाई अवसरका रूपमा उपयोग गर्दै उनीहरुको अनुभव सीप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण, उद्योग र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागी गराई रोजगारका अवसर सिर्जना गरिने गाउँपालिकाले जनाएको छ ।
सङ्घ र प्रदेश सरकारको समन्वयमा गाउँपालिकाभित्र खेलकूदका पूर्वाधार निर्माण, विकास साथै स्तरोन्नति गरिने बताउँदै अध्यक्ष कुँवरले ‘एक वडा, एक खेलमैदान’ निर्माण गरिने बताउँदै माछापुच्छ्रे खेल मैदानलाई स्तरोन्नति गरी राष्ट्रियस्तरको खेल मैदानको रूपमा विकास गरिने बताए । रासस

the authoradmin

Leave a Reply