राजनीतिसमाचार

मधेसमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, एमालेबाट सरोज यादवले भौतिक मन्त्रीको शपथ लिने

नेपालअखबार, वीरगन्ज । मधेस प्रदेश सरकारले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको छ । सत्ता समीकरण फेरबदल भएको करिब २ साता पछाडि मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका प्रेस सल्लाहकार अतीस मिश्राले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको बताए । उनका अनुसार सोमबार नै एमालेलाई सरकारमा समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको हो ।

सहमतिअनुसार एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री बन्ने निश्चित भइसकेको छ । प्रेस सल्लाहकार मिश्राका अनुसार उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रीको शपथ लिनेछन् ।

उनका अनुसार मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद्को पुनर्गठनको पत्र प्रदेश प्रमुखको कार्यालयमा  पठाइसकेको छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले पुनर्गठनबारे प्राप्तअनुसार मन्त्रिपरिषद्को पुनर्गठन गरिएको अर्को पत्र प्रदेश सरकारमा पठाएपछि शपथ खुवाउने कार्यक्रम गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

एमालेभित्र को मन्त्री बन्ने भन्नेबारे विवाद बढी देखिएपछि  पहिलो चरणमा यादवलाई मात्रै शपथ खुवाउन लागिएको एमाले मधेस प्रदेशले जनाएको छ ।

मधेस प्रदेश सरकारमा अझै पनि नेपाली कांग्रेस सरकारमै छ । कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् । यसैगरी कांग्रेसबाट गृह तथा सञ्चार मन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंह छन् ।  कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले  मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

the authoradmin