Tuesday, August 11

गोसाइकुण्ड नुहाउन पुग्न थाले भक्तजन

नेपालअखबार, रसुवा । यहाँको उच्चभागमा अवस्थित पवित्र तीर्थ गोसाइकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजन आउन थालेका छन् । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म सुरु भएको स्नान मेला भर्न भएको भक्तजन यहाँ आउन थालेका हुन् ।

Advertisement

यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरिएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए । जनैपूर्णिमाको दिन (आगामी भदौ ३ गते) भक्तजनको घुइँचोलाई मध्येनजर राख्दै सो दिनका लागि सुरक्षा व्यवस्था, उपचार, खानेपनीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए ।

Advertisement
Advertisement

रसुवाको प्रवेशद्वार बेत्रावतिबाट गोसाइकुण्डसम्म सबै यात्रुलाई जिल्लास्तरको सेवा प्रदान गरिने अध्यक्ष डिएमले बताए । साइकुण्डको तीर्थका २० जनाको समूह आज निलाद्री पर्वततर्फ प्रस्थान गरेको भन्दै उक्त समूहले सुलाद्री आरोहण गरिरहेको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

Advertisement

भगवान् शङ्करले बास लिएको कुण्डस्थलका रुपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरिएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे ।

गोसाइकुण्डका यात्री सहज यात्राका लागि आवश्यक सेवा दिने उद्देश्यले १३ वटा उपसमिति गठन गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पर्याप्त सुरक्षा व्यवस्था मिलाइसकिएकाले निर्धक्क भएर यात्रा गर्न आग्रह गरे ।

यात्राका क्रममा कुनै समस्या आए सुरक्षाकर्मी वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, गोसाइकुण्ड क्षेत्र विकास समितिलगायत निकायमा जानकारी गराई सहयोग लिन उनले आग्रह गरे ।

गोसाइकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी सास्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । गुल्कोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा सहज हुने जेष्ठ नागरिकको अनुभव छ ।

घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए ।

कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, निलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकाङ्क्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहिआएको उनले बताए ।

काठमाडौँबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा सुरू हुन्छ । बाटोमा ठाउँठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घका अध्यक्ष निसान गजुरेलले बताए । हिमाली क्षेत्रको वातावरण शरीरमा मिलाई हिड्नका लागि काठमाडौँबाट आएको एक रात धुञ्चेमा बसेर भोलिपल्ट उकालो लाग्दा सहज हुने उनको सुझाव छ ।

फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, लठ्ठीको नाममा रूख बिरुवा नकाट्न, पैदल मार्गमा भेटिने जनावरलाई संरक्षण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले सम्पुर्ण यात्रीमा अनुरोध गरेको छ ।

यात्रीले प्रयोग गरेका निजी सवारीसाधन सुरक्षाका लागि गोसाइकुण्ड गाउँपालिका–६ को कार्यालय धुञ्चेले सःशुल्क पार्किङको व्यवस्था गरिसकेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

गोसाइकुण्ड जाने पैदल मार्ग स्वच्छ पार्न सरसफाइ कार्यक्रम सुरु भएको छ । पहिलो चरणअन्तर्गत जिल्ला प्रशासन कार्यालयको पहलमा धुञ्चेबाट मिनी गोसाइकुण्डसम्म सरसफाइ सम्पन्न गरिएको बताउँदै प्रजिअ खनालले क्रमशः सरसफाइलाई निरन्तरता दिने जनाए । रासस