
नेपालअखबार,काठमाडौँ। एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका केन्द्रीय सचिव प्रतीक तामाङले उक्त पद परित्याग गरेका छन् । संगठनको प्रथम अधिवेशनमा भएको सहमति र विधान विपरीत संगठनले गरेका गतिविधिहरूको विरोध गर्दै एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरेको केन्द्रीय सचिव तामाङले घोषणा गर्नुभएको हाे ।
प्रतीक तामाङले २०५२ साल देखि संगठनको सदस्यता लिएका थिए । तामाङले संगठनको सञ्चार विभागीय सचिव र अध्यक्ष हुदै केन्द्रीय सदस्य बन्नु भएकाे थियाे ।
पछिल्लो समय गठन भएको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय केन्द्रीय सचिवमा निर्वाचित भएका थिए । कार्यालय व्यवस्थापन विभागको जिम्मेवारी लिएर सचिवको रुपमा कार्यरत रहँदै आएका छन् ।
पूर्व अध्यक्ष मोहनकुमार घिमिरे,गगन विष्ट लगायतले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि । यस अघि नै शरण गुरुङहरुको समूहले विद्रोह गर्दै आएको थियो ।
संस्थापक अध्यक्ष रहेका मोहन घिमिरे उपसचिवमा उक्लिएसँगै संगठनको अध्यक्षमा गगन बिष्ट छानिएका थिए । विष्ट पनि घिमिरेझैं बढूवाबाट उपसचिवमा उक्लिए । गगन बिष्ट उपसचिवका बढूवाका लागि सिफारिस भएसँगै एउटा पक्षले आफू निकटस्थ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै शरण गुरुङहरुको समूह विद्रोहमा उत्रिएर समानान्तर गतिविधि गर्दै आइरहेको थियो ।
गत बर्षको फागुन २६ र २७ गते खरिपाटीमा भएको भेलाले संगठनको अध्यक्षमा गगन र सह अध्यक्षमा शरणलाई चयन गरेको थियो । निर्वाचन भनिए पनि टीका लगाएरै पदाधिकारी चयन भएको थियो उक्त समयमा । गगन बिष्ट उपसचिवमा बढूवा सिफारिस भइसके पछि फेरि आफ्नै समूहका यामबहादुर खत्रीलाई अध्यक्ष बनाइसँगै उक्त संगठनमा भाँडभैलो शुरु भएको थियो । शरण यस अघि नै एमालेमा हुँदा उपाध्यक्ष चलाइसकेका कर्मचारी थिए । संघीय संसद सचिवालयमा कार्यरत उनी पार्टी फुटेपछि एकीकृत सरकारी कर्मचारी संगठनमा महासचिव,उपाध्यक्ष हुँदै सह अध्यक्षको भूमिकामा थिए । तर उनी भन्दा कनिष्ठ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै संगठनमा शुरु भएको भाँडभैलो अन्तत दुई चिरा परेर सकिएको छ ।
उक्त समूहले स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन गठन गरी श्रम विभागमा दर्ता गराइसकेका छन् । शरणका पक्षमा मधेश प्रदेश कार्यसमिति,कर्णाली प्रदेश र गण्डकी प्रदेश कार्यसमितिका केही सदस्यहरुको साथ रहेको बताइएको छ । प्रतीक तामाङ पनि उक्त संस्थामा समाहित भएका हुन ।
उनले भनेका छन् , नेपालको संविधानद्वारा प्रदत्त हक, अधिकार एवं संघ, प्रदेश र स्थानिय तहका ऐन, नियमावली मार्फत आम राष्ट्रसेवकहरुको पेशागत हक, हित र अधिकारको संरक्षण र सम्वर्द्धन गर्दै कानुनद्वारा प्राप्त ट्रेड युनियन अधिकारलाई राष्ट्रसेवक, जनता र राष्ट्रको हितमा उपयोग गर्नेगरी राष्ट्रसेवक कर्मचारीहरुको एक स्वतन्त्र, निश्पक्ष र विशुद्ध राष्ट्रिय स्तरको पेशागत ट्रेडयुनियनको रुपमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल २०८१ भाद्र, १६ गतेका दिन श्रम तथा सुरक्षाजन्य सुरक्षा विभागमा दर्ता भई कृयाशील रहेको हुँदा अव उप्रान्त सोही संगठनमा आवद्ध भई कृयाशिल रहने सबैमा जानकारी गराउन चाहन्छु।
उनले आम न्यायप्रेमी राष्ट्रसेवक कर्मचारीहरुलाई स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालमा आवद्ध भई कृयाशिल हुन समेत आव्हान गरेका छन् ।

