
नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देश गम्भीर अस्थिरता र अनिश्चयमा फसेको भन्दै नीति र सिद्धान्तमा आधारित वामपन्थी एकताको आवश्यकता औँल्याएका छन्। नेताहरूको टाउको मात्र जोडेर गरिने प्राविधिक एकता दिगो नहुने उनको भनाइ छ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै नेता खनालले वामपन्थी आन्दोलन कमजोर हुँदा देशमा संकट बढेको बताए। वाम शक्तिहरूबीच न्यूनतम रूपमा एकताबद्ध भएर अघि बढ्ने संस्कृतिको समेत अभाव देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे।
‘कम्युनिस्ट आन्दोलनले सुरुदेखि नै आफूलाई सबैभन्दा बढी देशभक्तिपूर्ण आन्दोलन दाबी गर्दै आएको छ, तर हामी आफैँले गरेका गलत कार्य र सम्झौताका कारण राष्ट्रियता गम्भीर मोडमा पुगेको छ,’ खनालले भने।
उनले एकताको स्पष्ट आधार तय गर्नुपर्नेमा जोड दिए। ‘एकता भनेको टाउको जोडेर हुँदैन। नीति, सिद्धान्त, आदर्श र सही वैचारिक–राजनीतिक दिशाको आधारमा मात्र एकता बनायौँ भने त्यो दिगो हुन्छ,’ सम्पूर्ण वामपन्थीहरूलाई एकताको प्रयास गर्न आग्रह गर्दै उनले भने। राष्ट्रियता सुदृढ गर्न, ५ हजार वर्ष पुरानो संस्कृतिको रक्षा गर्न र सामाजिक–आर्थिक रूपान्तरणका लागि वाम शक्तिहरू मिल्नुको विकल्प नरहेको उनको भनाइ छ।
सहकारी कानुन संशोधन गर्नुपर्छ
सोही कार्यक्रममा नेता खनालले सहकारी क्षेत्रमा देखिएको पछिल्लो सङ्कट र ठगी समाधानका लागि विद्यमान नीति तथा कानुनमा तत्काल संशोधन गर्नुपर्ने बताए। पुरानै संरचना र व्यवस्थाबाट सहकारी क्षेत्रलाई नयाँ उचाइमा लैजान नसकिने भन्दै उनले यसलाई बलियो र सुरक्षित बनाउन नयाँ नीतिगत तथा कानुनी आधार निर्माण गर्नुपर्नेमा जोड दिए।




