Tuesday, April 21

नेपोटिजमको यस्तो बयान दिएर कंगनाको निशानमा आइन् करिना कपुर, सोधिन् यस्ता प्रश्न

नेपाल अखबार, एजेन्सि। सुशान्त सिंह राजपूतको मृत्युपछि नै बलिउडमा नेपोटिजमको मुद्दा एकपटक पुनः तातेको छ र सबैले यसबारे आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् । स्मरण रहोस्, नायिका कंगना रनौत बलिउडमा नातावादको विषयमा कडा रुपमा प्रस्तुत हुने गर्छिन् । सुशान्तको मृत्युपछि उनको निशानामा ठूल्ठूला व्यक्ति छन् । यसैबीच करिना कपुर खानले आफ्नो अनुभव र फिल्मी यात्राबारे कुरा गरेकी छिन् जसमा उनले फिल्मी घरानासँग सम्बन्धित हुँदा समस्या निकै हदसम्म कम हुने बताएकी छिन् ।
बलिउड लाइफमा प्रकाशित एक खबरका अनुसार एक अन्तर्वार्तामा करिना कपुर खानले भनिन्, ‘२१ वर्षसम्म फिल्म इन्डष्ट्रिमा नेपोटिजमका कारण मात्रै म टिक्न सक्दिनँ । यो सम्भव नै छैन । म ती सुपरस्टार्सका सन्तानको एउटा लामो सूची बनाउन सक्छु जसले यस्तो गर्न सकेका छैनन् ।’
कपुर खानदानबाट आएका कारण उनले प्राथमिकता पाएको तर यति हुँदाहुँदै पनि आफूलाई प्रमाणित गर्नका लागि उनले कडा मिहिनेत पनि गरेको बताएकी छिन् । करिनाले भनिन्, ‘मैले जे जति पाएँ त्यो कपूर परिवारको ट्याग भएका कारण मात्रै हो जस्तो लाग्दैन । यो अचम्म लाग्न सक्ला तर सायद मेरो संघर्ष पनि त्यहि हो । मेरो संघर्ष तपाईंलाई खासै रोचक नलाग्ला जति ती व्यक्तिको जसले खल्तीमा १० रुपैयाँ लिएर मुम्बई आएका छन् । हो, मैले त्यो संघर्ष गर्नुपरेन तर यसका लागि दुःखी हुन सक्दिनँ ।’
करिना कपूरको यो बयानमा कंगनाको समूहले ट्वीट गरेर विभिन्न प्रश्न सोधेका छन् । ट्वीटमा लेखिएको छ, ‘करिना जी, तपाईंहरु सबैलाई दर्शकले धनी र चर्चित बनाए तर उनीहरुलाई थाहा थिएन कि आशा गरेभन्दा बढी सफलताले बलिउडलाई बुलीवुडमा परिवर्तन गर्नेछ । कृपया यी प्रश्नको जवाफ दिनुहोस् ।’

१. तपाईंकी अति मिल्ने साथीले कंगनालाई इन्डष्ट्रि छोड्न किन भनेकी थिइन् ?
२. ठूलो प्रोडक्सन हाउसले सुशान्तलाई किन प्रतिबन्ध गरेको थियो ?
३. उनीहरुले कंगनालाई बोक्सी र सुशान्तलाई बलात्कारी किन भने ?
४. तपाईंको इको सिस्टममा कंगना र सुशान्तलाई बाइपोलार किन भनिन्छ ?
५. तपाईं जस्तै एक नेपो किडले विवाहको वचन दिएर कंगनाविरुद्ध किन मुद्दा हाले ?
६. कंगना र सुशान्तलाई इन्डष्ट्रिमा किन एक्ला–एक्लै पारियो ? उनीहरुलाई पार्टीमा किन बोलाइँदैन ? किन कसैले उनीहरुलाई फिल्म रिलिज, जन्मदिन र सफलतामा बधाई दिँदैनन् ?
यसबारे ट्वीटमा सबै स्टार किड्सलाई चेतावनी जारी गर्दै भनिएको छ, ‘सबै मूर्ख नेपो किड्सका लागि चेतावनी । हामीलाई तपाईंको सुख–सुविधासँग कुनै समस्या छैन, हाम्रो समस्या भनेको तपाईंहरुले हामीमाथि गर्ने व्यवहार हो । बुलिङ र समूहवादले सुशान्तको हत्या गरेको हो । उनले फिल्म इन्डष्ट्रिमा सास फेर्न गाह्रो हुने बताएका थिए । उनी छोड्न चाहन्थे । तपाईंहरुले उनलाई दुष्कर्मी भनेर आरोप लगाएकोले पनि उनलाई असाध्यै चित्त दुखेको थियो । उसलाई कामको हक कहिले पनि दिएनौ । आउनुहोस्, यसबारे कुरा गरौं । फिल्म र लुगा अहिले कुराकानीको विषय होइन । वास्तविक मुद्दामा कुरा गर्नुहोस् ।’
स्मरण रहोस्, नेपोटिजमको यो मुद्दामा कंगना रनौत लगातार बोल्दै आएकी छिन् । कंगनाले थुप्रै बलिउड सेलिब्रिटी जस्तै करण जोहर, आलिया भट्ट, स्वरा भास्करलाई घेरेकी छिन् । सुशान्त सिंह राजपूतको मृत्युपछि यो मुद्दा अत्यधिक चर्चाको विषय बनेको थियो । यसै कारण थुप्रै सेलिब्रिटीको फलोअर्समा भारी गिरावट पनि आयो । कतिले त आफ्नो अकाउन्ट प्राइभेटसम्म गरेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *