बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन
नेपालअखबार,धरान। पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ ।
बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ । आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ ।
बिहान घाम नउदाउँदै बराहक्षेत्र नगरपालिकाका अधिकांश किसानहरू डोको, हँसिया र बोरा बोकेर बारीतिर लागिसकेका हुन्छन् । यी क्षेत्रका प्रत्येक बारीमा हेर्दा कोही काँक्रो टिप्दै, कोही गोलभेँडा टिप्दै त कोही बोडी, कोपी टिप्दै भने कोही बोराभरि तरक...










