सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जङ्गली हात्तीबाट लखेटिएको जनाइएको छ । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उनले बताए । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन ।
संरक्षण अधिकृत पौडेलका अनुसार यस्ता हात्ती बथानबाट लखेटिएर एक्लिने गर्दछन् । बथानको नेतृत्व पोथी हात्तीले सम्हाल्ने गर्दछ । अल्लारे उमेरका यस्ता भाले हात्तीले उपद्रो मच्चाएमा बथानका कमाण्डरले लखेट्ने गरेको अध्ययनहरूले देखाएको उनले जानकारी दिए । ...









