‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टि मिल्दो रहेछ’
नेपालअखबार,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बनेका हुन् ।
आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । ‘जहाँ भएपनि काम नगरी सुःख पाइदैन,’ उनले भने, ‘बिचौलियालाई लाखौ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टि मिल्दो रहेछ।’
पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा...









