दसैंको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू
नेपालअखबार,काठमाडौँ ।‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैं र परिवारभन्दा जागिर प्यारो भयो सर,’ सर्लाहीका अजय मेहताले भने ।
दसैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो। शुक्रबार साँझपख बोर्डिङ पास लिनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैंको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो। सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए।
मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दसैंको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन...










