नेपालअखबार, जुम्ला । हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ। यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ।
यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो। यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ। सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ।
हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो। यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो।
विडम्बना! अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ। देउस...