कोरोना भाइरस महामारीका कारण मानसिक समस्या बढ्दो
नेपाल अखबार, सुर्खेत । कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने कतिपयले त सहनै नसकी आत्महत्याको बाटो अपनाएका छन् ।
छटपटी बढ्यो
डोल्पा समाचारदाताका अनुसार बन्दाबन्दी सुरु भएदेखि डोल्पाका बासिन्दामा मानसिक समस्या बढेको देखिएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिजन रावलले बन्दाबन्दीपछि दैनिक तीन जनासम्म मानसिक समस्या लिएर बिरामी आउने गरेको जानकारी दिए । निद्रा नलाग्ने, एकहोरिने, छटपटी लाग्ने, अत्यास लाग्ने, अल्छी हुने लगायतका लक्षण बिरामीले बताउने गरेको भन्दै उनले आफूहरूले बिरामीलाई सीधै मानसिक समस्या छ नभनी आवश्यक चेकजाँच गरी औषधि दिने गरेको बताए । डा. रावलले मान...
