वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार
नेपालअखबार, कैलाली । कैलालीको यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन्।
चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए।
तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए ।
'त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौं,' नवलसिंहले विगत सम्झिँदै भने, 'त्यहाँ धेरै परिवार थियौं। वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन। अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौं।'
सोही स्थानमा बस्दै आउनुभएका अर्का रतन नाथको पीडा पनि उस्तै छ। डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर गए। भारतमै हुँदा गाउँमा नापी टोली आएछ। आफन्त...










