मौरीपालनमा मोह
नेपालअखबार, पाल्पा। पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।
रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्।
घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन्।
उनको घरमा हाल मौरीगोलासहित चालिस घार छन्। आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन्। आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन्।
‘मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु’, उनले भने...










