भेडी गोठाला भन्छन्– सरकारबाट केही पनि सहयोग पाइएन
नेपालअखबार,बागलुङ । अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुगेका थिए ।
झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमैै बित्ने गरेको छ । उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्छ । सात जनाको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो...










