Tuesday, April 21

पोखरा महानगरका १० सामुदायिक स्कुलमा चाइनिज भाषाको पढाइ हुने

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका भित्रका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषाको पढाइ हुने भएको छ । चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबिच विद्यालयमा चिनियाँ भाषा पढाउने गरी सम्झौता भएको हो । यसका लागि चीनबाटै १० जना स्वयंसेवक शिक्षकहरू पोखरा आएका छन् ।

पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेम्जा, बिष्णुपादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा यही बिहीबारदेखि चिनियाँ भाषा पढाई सुरु हुनेछ ।

Advertisement

आइतबार पोखरा आइपुगेका भाषा शिक्षकहरूलाई मेयर धनराज आचार्यले स्वागत गरे । यसअघि अङ्ग्रेजी भाषाको समेत पढाई भइरहेकोमा अतिरिक्त भाषाका रूपमा चिनियाँ भाषालाई पनि प्रवेश गराइएको महानगरपालिकाले जनाएको छ । ‘यसबाट विद्यार्थीहरूको भाषागत ज्ञानमा थप टेवा पुग्ने विश्वास छ,’ आचार्यले भने, ‘भूमण्डलीकरणको अहिलेको अवस्थामा चिनियाँ भाषा पनि महत्त्वपूर्ण हुनेछ ।’ पछिल्ला वर्षहरूमा चिनियाँ गतिविधि पोखरामा बढ्दो छ ।

चिनियाँ पर्यटक समेत यहाँ धेरै नै घुम्न आउँछन् । भाषाको सामान्य ज्ञान विद्यार्थीहरूमा भए पर्यटकलाई सहज हुने बताइएको छ । मेयर आचार्यले अरू विद्यालयमा पनि चिनियाँ भाषा पढाइलाई विस्ता गर्ने बताएका छन् । यहाँका केही अगुवाहरूले भने सामुदायिक विद्यालयमा कुनै अमुक देशको भाषा पढाउनु राम्रो नहुने तर्क गरेका छन् । राप्रपा कास्कीका प्रवक्ता समेत रहेका अरुण गिरी चिनियाँ भाषा विद्यालयमा पढाउनु गलत हुने बताउँछन् ।

‘न हामीलाई हाम्रो भाषा, संस्कार र संस्कृति पढाइयो, न धार्मिक ग्रन्थ । न मौलिक सीप सिकाइयो न राष्ट्रिय गौरवका भावना जागृत गराइयो,’ उनले भने, ‘पोखरा महानगरपालिकाले विद्यालयहरूमा चाइनिज भाषा पढाउने समाजवादी निर्णय गरेछ । यो निर्णयको घोर विरोध गर्दछु र मेयरलाई यो निर्णय तुरुन्त खारेज गर्नका लागि जोडदार माग गर्दछु ।’ उनले संस्कृत भाषामा जोड दिन पनि महानगरलाई सुझाएका छन् ।

अभिमन्यु पाण्डे फेसबुकमा स्ट्याटस लेख्दै विरोध गर्छन्, ‘सवाल भाषा सिक्नेसँग मात्र होइन, सामुदायिक विद्यालयमा घुस्न लागेको बाहिरी तत्त्वको हो । नैतिक शिक्षा, व्यावसायिक शिक्षा, संस्कार, सभ्यताको पाठ हटाएर बाहिरी भाषा सिकाउनेमा गर्व गर्नु उचित हुन्न ।’ उनले सामुदायिक विद्यालयभित्रको शैक्षिक गुणस्तर बढाउन आग्रह गरेका छन् । महानगरले दूतावाससँग सम्झौता गरेरै चिनियाँ भाषा पढाउने निर्णय गरेपछि यसको आलोचना बढेको छ ।