Wednesday, July 29

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कसैले पनि घृणायुक्त अभिव्यक्ति नदिन तथा कानुनको सम्मान गर्दै निष्पक्ष अनुसन्धान प्रक्रियामा सहयोग गर्नसमेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

Advertisement
Advertisement

“कानुनको कार्यान्वयनमा पूर्वाग्रह भएको, दुराशय राखी पक्राउ गरिएको, पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहार नभएको र स्वास्थ्य उपचारमा पूर्वाग्रही भएकोजस्ता सूचनाहरू आयोगमा प्राप्त भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “प्राप्त सबै सूचनाको आयोगले अनुगमन गरिरहेको छ, पक्राउ र आरोपको पक्षविपक्षमा भएका गतिविधिबाट नागरिकको मानव अधिकार संरक्षण र शान्तिसुरक्षामा प्रभाव परिरहेको देखिएको छ ।”

Advertisement

फौजदारी कसुरमा छानबिन तथा अनुसन्धान गर्ने सन्दर्भमा राज्यकोतर्फबाट हुनसक्ने पूर्वाग्रहपूर्ण व्यवहार र आरोपीकोतर्फबाट प्रचलित कानुनी विधि र प्रक्रियाविपरीत व्यक्त हुने घृणायुक्त अभिव्यक्तिबाट यस प्रकारको अवस्था नआओस् भन्नेतर्फ सबै सचेत रहन आवश्यक भएको आयोगले जनाएको छ ।

फौजदारी मुद्दामा निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनसकेमा मात्र देशमा मानव अधिकार र कानुनी शासनको स्थापना हुन्छ भन्ने कुरामा विवाद हुन नसक्ने आयोगको भनाइ छ ।

आपराधिक घटनाको अनुसन्धानलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि नगर्न नगराउन, नियन्त्रणमा लिएका अभियुक्तको स्वास्थ्योपचारमा विना भेदभाव चिकित्सकीय जिम्मेवारी र कर्तव्य निर्वाह गर्न, आपराधिक घटनाको सुक्ष्म र वैज्ञानिक अनुसन्धानमा जोड दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।