Tuesday, May 12

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

बुधबार म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालत पेस गरिएकोमा न्यायाधीश श्यामविहारी मौर्यले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिश बास्कोटाले जानकारी दिए।

Advertisement

आइतबार उनलाई साइबर ब्युरोले उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। आइतबार नै उनलाई अदालत पेस गरिएको थियो। त्यतिबेला उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।

मंगलबार बयान लिन प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको थियो। सरकारी वकिल कार्यालयमा उनीसँग दुई घण्टा बयान लिइएको थियो।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसारको कसुर गरेको भन्दै जाहेरी परेको थियो।  उनका छोरा निराजनले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले म‌ंगलबार विपक्षीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोको नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रसाईंलाई छाड्न अस्वीकार गर्दै १५ दिनभित्र जबाफ माग गरिएको हो।