Thursday, July 9

युद्धविराम समाप्त भएको बताउँदै ट्रम्पले दिए इरानमा आक्रमण गर्न आदेश

नेपालअखबार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्।

Advertisement

टर्कीमा नेटो शिखर सम्मेलनका क्रममा उनले अमेरिका र इरानबीच गत जुन महिनामा भएको अस्थायी युद्धविराम समाप्त भएको बताएका हुन्।

Advertisement
Advertisement

‘शायद युद्धविरामको कुनै औचित्य रहेन। अब सकियो,’ टर्कीमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भनेका छन्।

Advertisement

उनले इरानमा नयाँ चरणको आक्रमण गर्न निर्देशन समेत दिएको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।

मंगलबार अमेरिकाले इरानमा हमला गरेको थियो। त्यो हमला अत्यन्त कडा भएको र आवश्यक परे फेरि आक्रमण हुन सक्ने चेतावनी ट्रम्पले दिएको भनेर अमेरिकी अखबार द वासिङ्टन पोस्टले लेखेको छ। ‍

स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई लक्ष्य गरेर इरानले हमला गरेको आरोप लगाउँदै अमेरिकाले इरानमा हवाई हमला गरेको थियो।

अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, कमाण्ड तथा नियन्त्रण सञ्जाल, तटीय राडार, जहाजविरोधी क्षेप्यास्त्र प्रणाली तथा इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित ६० भन्दा बढी साना डुंगालाई निशाना बनाएको थियो।

जबाफमा बुधबार बिहान इरानले कुवेत र बहराइनमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार गरेको थियो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले बहराइन र कुवेतमा रहेका ८५ वटा अमेरिकी सैन्य लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

यद्यपि कुवेतले दुईवटा ब्यालेस्टिक मिसाइल र १३ वटा ड्रोन खसालेको जनाएको छ भने बहराइनले पनि आफ्ना हवाई प्रतिरक्षा प्रणालीले अधिकांश आक्रमण निष्क्रिय पारेको जनाएको छ।

दुवै हमलाको क्षति विवरण सार्वजनिक भइसकेको छैन।

मध्यपूर्वका सैन्य अड्डामा हमला भएपछि ट्रम्पले नयाँ चरणको आक्रमण गर्ने सेनालाई निर्देशन दिएको भनेर वासिङ्टन पोस्टले लेखेको छ।

‘यो इरानले हिजो जहाजमाथि गरेको बम आक्रमणको प्रतिशोध हो। यदि फेरि यस्तो भयो भने यसको परिणाम अझ गम्भीर हुनेछ,’ ट्रम्प आफैले पनि ट्रुथ सोसलमा लेखेका छन्।

ट्रम्पले अमेरिकाले नयाँ चरणको आक्रमण सुरू गरे पनि धेरै दिन नलम्बिने बताएका छन्।

‘मलाई लाग्दैन यो फेरि ठूलो युद्धमा बदलिन्छ। उनीहरूले केही जहाजमा आक्रमण गरे, त्यसको जवाफमा हामीले उनीहरूलाई अझ कडा प्रहार गर्‍यौं। हामी उनीहरूको भाषामै जवाफ दिन्छौं,’ उनले भने।

एक अमेरिकी अधिकारीका अनुसार यदि इरानले व्यावसायिक जहाजमाथि आक्रमण जारी राख्यो भने अहिलेको सैन्य अभियान एक–दुई दिन, एक साता वा एक महिनासम्म पनि लम्बिन सक्छ।

‘हामी उनीहरूलाई यस्तो जबाफ दिनेछौं कि हामी मजाक गरिरहेका छैनौं भन्ने स्पष्ट हुनेछ,’ ती अधिकारीले अमेरिकी अनलाइन एक्सियलाई भनेका छन्।

ह्वाइट हाउसका एक अधिकारीले पनि सैन्य टकराव केही दिनदेखि केही सातासम्म लम्बिन सक्ने भएकाले त्यसको तयारी भइरहेको भनेका छन्।

यद्यपि इरानको आगामी कदमका आधारमा ती सबै तय हुने बताइएको छ।

ट्रम्पले इरानी नेतृत्वको पनि कडा टिप्पणी गरे।

‘उनीहरू फोहोर मानिस हुन्। बिरामी मानिस हुन्। उनीहरूको नेतृत्व पनि बिरामी मानिसहरूले गरिरहेका छन्। उनीहरू हिंस्रक छन्। उनीहरूसँग सम्झौता गर्नु समयको बर्बादी हो। उनीहरू झुटा हुन्। उनीहरू पागलजस्ता छन्,’ उनले भने।

अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति सम्झौताको मुख्य उद्देश्य हर्मुजबाट निर्वाध रूपमा जहाज आवतजावतका लागि खुला गर्नु थियो। तर इरानले हर्मुज हुँदै जाने सबै जहाजमाथि आफ्नो नियन्त्रण रहने दाबी गर्दै शुल्क उठाउने प्रस्ताव अघि सारेपछि विवाद चर्किएको हो।

इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजीजीले हर्मुजमा इरानको नयाँ व्यवस्थालाई स्वीकार गर्नुको विकल्प नरहेको  बताएका छन्।

इरानी सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै धम्की र जबर्जस्तीको युग समाप्त भइसकेको बताए।

‘यदि तपाईंले आक्रमण गर्नुभयो भने जबाफ पनि पाउनुहुनेछ। हर्मुज अमेरिकी धम्कीले होइन, इरानको व्यवस्थाअनुसार मात्र खुल्नेछ,’ उनले भनेका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हर्मुज खुला रहनुपर्ने अमेरिकी अडान दोहोर्‍याएका छन्।

‘यदि इरानले हर्मुज बन्द गर्ने प्रयास गर्‍यो भने अमेरिकी सेनाले जवाफ दिनेछ। उनीहरूले जलमार्ग खुला राख्न सक्छन्, अन्यथा हिजो राति जे भयो, त्यही दोहोरिँदै जानेछ। जहाजमाथि आक्रमण रोक्दासम्म यो प्रक्रिया जारी रहनेछ,’ उनले भने।