Saturday, July 18

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

नेपालअखबार, जनकपुरधाम । यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ ।

Advertisement

मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा सबैभन्दा कम महोत्तरीमा ३९ दशमलव ५९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए।

Advertisement
Advertisement

जिल्लागत हिसाबले सप्तरीमा ६८ हजार हेक्टर जग्गमध्ये ३४ हेक्टर, सिरहामा ५४ हजार हेक्टर जग्गामध्ये ४३ हजार २०० हेक्टरमा धान रोपाइँ भएको अधिकृत विश्वकर्माले जानकारी दिए ।

Advertisement

यस्तै, धनुषामा ४३ हजार ७०० हेक्टर जग्गामध्ये २१ हजार ८५० हेक्टर, महोत्तरीमा ४० हजार हेक्टर जग्गामध्ये १५ हजार ८३८ हेक्टर, सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये २५ हजार ६१९ हेक्टर, रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये २१ हजार १७५ हेक्टर, बारामा ४५ हजार १०० हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर र पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये ३५ हजार ५९ दशमलव सात हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको विश्वकर्माले बताए ।

कृषि प्राविधिकहरूका अनुसार असारभित्र धान रोपाइँ सम्पन्न गर्नसके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम अहिले प्रदेशभरि एकैसाथ भइरहेको छ ।

यस वर्ष किसानले उन्नत जातका धानका बिउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा पनि ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदेबर्साइका किसान अजयकुमार यादव बताउछन् ।