Saturday, July 18

इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु

नेपालअखबार,तेहरान ।  इरानका विभिन्न प्रान्तहरूमा जारी अमेरिकी आक्रमणका कारण कम्तिमा ३८ जनाको मृत्यु हुनुका साथै ४०० भन्दा बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणले पुल, उर्जा सुविधाहरू र समुद्री नियन्त्रण टावर सहित नागरिक पूर्वाधारलाई लक्षित गरेको जनाइएको छ ।

Advertisement

इरानको प्रेस टिभीका अनुसार होर्मोजगन, बुसेहर, सिस्तान र बलूचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तका प्रभावित क्षेत्रहरूमा आक्रमण गरिएको थियो । आक्रमणमा चाबहारको शाहिद कलन्तरी बन्दरगाहमा रहेको सामुद्रिक नियन्त्रण टावर ध्वस्त भएको जनाइएको छ । यद्यपि, प्रेस टिभीको रिपोर्ट अनुसार बन्दरगाहको कार्गो–सुविधाहरू र अन्य पूर्वाधारमा कुनै हताहत भएको रिपोर्ट गरिएको छैन ।

Advertisement
Advertisement

युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार चाबहारको इरानको शाहिद कलान्तरी बन्दरगाहमा रहेको निगरानी टावरलाई “सफलतापूर्वक नष्ट“ गरेको पुष्टि गर्दै यो इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) द्वारा ओमानको खाडीमा, होर्मुजको जलमार्ग हुँदै व्यापारिक ढुवानीको निगरानी गर्न प्रयोग गरिएको समुद्री निगरानी नेटवर्कको केन्द्र भएको बताएको छ ।

Advertisement

इरानी समाचार एजेन्सी इरनाले प्राविधिक र परिचालन टोलीहरूले क्षतिको आकलन गर्न, प्रभावित क्षेत्रलाई सुरक्षित गर्न र बन्दरगाह गतिविधिहरू पुनः सुरु गर्ने कदमहरूको समीक्षा गर्न थालेको बताएको छ । सुरक्षा जाँच पूरा भए पछि कार्गो सञ्चालन पुनः सुरु हुने अपेक्षा गरिएको छ ।

यसैबीच, होर्मोजगन प्रान्तका अधिकारीहरूले खमीर काउन्टीका छ वटा पुलहरूसहित धेरै स्थानहरूमा आक्रमण भए पछि ठुलो क्षति भएको रिपोर्ट गरेका छन् । होर्मोजगन गभर्नरको कार्यालयले आक्रमणमा सात जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको बताएको छ ।

अधिकारीहरूले आक्रमणले बन्दर अब्बास, बन्दर खमीर र लारलाई जोड्ने यातायात मार्गलाई असर गरेको जनाइएको छ भने आपतकालीन टोलीहरू वैकल्पिक मार्गहरू मार्फत आवागमन पुनस्र्थापना गर्न सक्रिय रहेको बताइएको ।

आवासीय क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताउदै इरानी अधिकारीहरूले पनि बन्दर अब्बासमा हताहत भएको जानकारी दिएका छन् ।

प्रान्तीय अधिकारीहरूलाई उदृत गर्दै प्रेस टिभीले रिपोर्ट गरे अनुसार सहरको एउटा रेलवे शाखा स्टेसनमा क्षति पुगेको छ, जसमा दुई जना घाइते भएका छन् ।

बुसेहर प्रान्तमा गभर्नर मोहम्मद मोजाफारीले केही घण्टा भित्रै दुईवटा आक्रमण भएको र एक जना घाइते भएको बताएका छन् । खुजेस्तान प्रान्तका उप गभर्नर वालियोल्लाह हयातीले अमेरिकी सेनाले अहवाज वरपरका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् भने अधिकारीहरूले क्षतिको परिमाण मूल्याङ्कन गरेको बताइएको छ ।

यसअघि इरानी अधिकारीहरूले अहवाज नजिकैको आक्रमणले क्यान्सरको उपचारमा विशेषज्ञता प्राप्त शाहिद बाघाई अस्पताललाई अस्थायी रूपमा खाली गर्न बाध्य पारेको आरोप लगाएका थिए ।

पश्चिमी इरानको लोरेस्तान प्रान्तमा, उप गभर्नर सईद पौरालीले चेगेनी काउन्टीको वेसियान जिल्लामा आक्रमण भएको रिपोर्ट गरिएको बताएका छन् । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तटीय निगरानी प्रणाली, हवाई रक्षा स्थलगायतका पूर्वाधार र समुद्री सम्पत्ति लगायत सैन्य क्षमताहरूलाई लक्षित गर्दै इरान विरुद्ध तिव्र आक्रमण गरेको बताएको छ ।

इरानी अधिकारीहरूले अमेरिकाले नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएका छन् भने वासिङ्टनले आफ्नो कारबाहीको उद्देश्य इरानी सैन्य क्षमतालाई घटाउनु र क्षेत्रीय सुरक्षा विरुद्धको खतराहरूको जवाफ दिनु रहेको बताएको छ ।

बहराइन, कुवेत, सिरिया र ओमानमा अमेरिकी स्थानहरूमा आक्रमण गरेको दाबी गर्दै इरानले यस क्षेत्रमा अमेरिकी सैन्य सम्पत्तिहरू विरुद्ध जवाबी आक्रमणको घोषणा गरेको छ ।