सहरका शैक्षिक संस्थाभन्दा कम छैन बागलुङको शान्ति मावि
नेपालअखबार,बागलुङ । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी। तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नुपर्छ।
भौगोलिक रूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रङरोगन गरेर सिंगारिएका केही भवन देखिन्छन्। भवन वरिपरि घेराबार लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो। दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन।
आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ। भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ। केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै बसेर पढ्ने गर्थे। पर्याप्त डेक्स– बेन्च थिएनन्। खानेपानी र शौचालयको अवस्था पनि उस्तै थियो। जब स्थानीय सरकार आयो, तब शान्ति म...










