मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा
नेपालअखबार,मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ।
मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो ।
वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोटगाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुरगाउँ पर्दछन्।
यी गाउँमध्ये सबैभन्दा धार्मिक तीर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोटसहित अरु गाउँमा भने पर्यटन गुमनामजस्तै हुन्छ । कागबेनी–म...










