भूमिहीनले पाए जग्गाको धनीपुर्जा
नेपालअखबार, झापा। झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौंदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन्।
आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा वितरण गरिसकेको र एक सय ७० तयारी अवस्थामा रहेको जनाएको छ। जिल्लामा ४८ हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको धनीपुर्जा माग गर्दै निवेदन दिएका छन्।
आयोगका झापा जिल्ला अध्यक्ष तिलक पाण्डेले गौरादह नगरपालिकामा सबैभन्दा धेरै ५०, बुद्धशान्ति गाउँपालिकामा ४२ र कनकाई नगरपालिकामा २७ वटा धनीपुर्जा वितरण गरिसकेको जानकारी दिए।
कनकाई वडा नं ८ का टीकाराम लुइँटेल र देवीमाया दाहालले आफूले वर्षौंदखि बसोबास गर्दै आएको जग्गाको संयुक्त धनीपुर्जा पाएकामा खुसी व्यक्त गरे।
सो जग्गा १० वर्षसम्म अंशबण्डा र अपुतालीको अवस्थामा बाहेक स्वामित्व हस्तान्तरण गर्न पाइने छैन भनेर धनीपुर्जामै लेखिएको छ।
...








