नेपालमा अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका
कृष्ण आचार्य । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताए पछि चितवन जिल्लाको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।
नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताए । उनले भने “पुरातत्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ ।” माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको उनले बताए ।
धार्मिक गुरुहरुलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण रहेका बताए । उनले भने “अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन् ।” ...
