नेपाल र बङ्गलादेशबिच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही
नेपालअखबार,बाकु । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबिच भेटवार्ता भएको छ । अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उनीहरूबिच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिइन् ।
भेटमा मन्त्री शाहीले बङ्गलादेश र नेपालबिच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशको सहकार्यको ठूलो महत्त्व रहेको बताएका थिए । साथै उनले बङ्गलादेश र नेपाल बिचको ऊर्जा व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याउन, उनको महत्त्वपूर्ण भूमिका र नेतृत्वका लागि आभार व्यक्त गरे । यसैको परिणामस्वरूप, नेपालले १६ नोभेम्बर २०२४ देखि औपचारिक रूपमा ४० मेगावाट जलविद्युत् बङ्गलादेशलाई निर्यात गर्न सुरु गरेको छ ।
...










