टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री
नेपालअखबार, काठमाडाैं । काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो ।
टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ ।
टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देश...









