तनहुँको ब्यासमा फोहोर व्यवस्थापन सकस
नेपाल अखबार, तनहुँ । दैनिक ११ टन फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले चार दिनदेखि फोहोर उठाउन सकेको छैन । नगरपालिका कार्यालयले वैकल्पिकरूपमा फोहोर व्यवस्थापन गर्दै आएको २ स्थान नदीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो ।
नगरपालिकाले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको थियो तर उक्त स्थान नदीले कटान गरेपछि समस्या उत्पन्न भएको हो । गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले उक्त स्थान नदीले कटान गरेपछि वैकल्पिकरूपमा माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो ।
फोहोर फ्याँक्न थालेको १५ दिन पनि नबित्दै असोज पहिलो साता परेको अविरल वर्षासँगै आएको बाढीले पुनः माथिल्लो भतेरी कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा झनै समस्या आएको हो । नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक १...
