प्रदेशका योजनाले फेरिएको रुपा
नेपालअखबार, पोखरा । बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै भए पनि मोटरबाटोकै कारण विकट मानिने टाकन्जामा ‘रुपा रिङरोड’को योजना पुग्यो । रिङरोड निर्माणपछि रुपाको रुप फेरियो ।
गण्डकी प्रदेश सरकारले ल्याएको ‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ अन्तरगत रुपा रिङरोड बनेको हो । प्रदेश सांसदले योजना छनोट गर्ने व्यवस्था अन्तर्गत कास्की १९१० बाट ०७४ मा निर्वाचित दीपक कोइरालाले रुपा रिङरोड छानेका हुन् । आर्थिक वर्ष ०७६÷७७ बाट बहुवर्षीय कार्यक्रममा बजेट छुट्टिएकोमा हालसम्म रिङरोडका लागि १६ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको छ । घरअघिकै मोटरबाटो कालोपत्रे भए पछि रुपाका स्थानीय खुसी छन् । टाकन्जाका स्थानीय छिमालले जीवनमै नसोचेको कुरा पूरा भएको बताए । ‘...









