अवरूद्ध तातोपानी–कोदारी राजमार्ग खुलेसँगै भन्सार नाकाबाट सामान आयात सुरु
नेपालअखबार, काठमाडौं । पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेको छ।
राजमार्ग खुलेसँगै चीनसँगको प्रमुख व्यापारिक ढोका तातोपानी नाका सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन्।
कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका–२ इकोसहितको चार ठाउँको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।
अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको थियो।
इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो।
महिना दिनभन्दा बढीदेखि रोकिएका केही कन्टेनर मङ्गलबार बेलुकीसम्म भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिए।
उनका अनुसार दसैँलक्षित लगायत सामग्री भित्रिएका र आज पनि लोडको काम भइरहेको उनले जानकारी दिए।
...










