सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
नेपालअखबार,काठमाडौं । कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन्। त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’। अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ। शरीरका अङ्ग अचेत छन्। आँखा खुल्दैनन्। कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ। कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ।
त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको। कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उनको स्थायी बसोबास छ। दुई वर्ष दुई महिना बित्नै लाग्यो, उनी अस्पतालको शय्याबाट उठ्न सकेका छैनन्। बिरामी तेजबहादुरका साथमा श्रीमती विमला रमौली छिन्। तेजबहादुरको स्याहार–सुसार र पालन–पोषण उनकै भरमा छ। बिरामी श्रीमानको पीडामा पिरोलिएकी विमला छेवैमा बसेर नाडी समाउँछिन्। मुहार सुम्सुम्याउँछिन्।
यतिबेला उनको जीवनमा आइलागेको पीडा र भएको अभाव पोखिसाध्य छैन। माइतीमा ब...










