मास्क सिलाउन व्यस्त महिला
नेपाल अखबार, बनेपा । धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्ममा उहाँले करिब ७०/८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उहाँले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आउनुभएको छ ।
यसअघि उहाँले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्नुहुन्थ्यो । पछिल्लो समयमा कोरोना कोभिड–१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागिरहनुभएको हो । धुलिखेल उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उहाँ मास्क सिलाउने काममा व्यस्त हुनुहुन्छ । पहिला पनि सिलाइ नै गरिरहनुभएकी उहाँले उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताउनुभयो ।
धुलिखेल नगरपालिका–७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गर्नुुहुन्छ । ...
