दूध बेचेरै महिनामा लाख कमाउँछन् बाबुछोरा
नेपालअखबार, बागलुङ। बसाइँसराइले रित्तिँदै गएको छिस्तीको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैंसी र पाडापाडीपालन गरेर बसेको छ रघुनाथ पौडेलको परिवार।
बागलुङ, जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१ वर्षीय रघुनाथ र उनका ३२ वर्षीय छोरा राजन गाईभैंसीको स्याहारसुसारमा व्यस्त थिए। बाउछोरा मिलेर चार वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन्। उनीहरू गाउँकै उदाहरणीय परिवारका रूपमा चिनिएका छन्।
गाउँमा बाँदर आतंक भएपछि अन्नबाली कम उत्पादन हुन थाल्यो। परम्परागत कृषि कर्म गर्दै आएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाएका छन्।
'चार वर्ष अगाडिसम्म छोरा चितवनमा माछापालन गरेर बस्थ्यो। घरमा दुई-चारवटा मौरीका घार र एउटा लैनो भैंसी थियो। कोरोनापछि छोरा घर फर्कियो र व्यावसायिक पशुपालनमा लाग्यौं,' रघुनाथले भने, 'अहिले बाउछोरा मिलेर ६ वटा मुर्रा क्रस जातका भैंसी र ती...










